काठमाडौँ: मंगलबारको प्रदर्शन हिंसात्मक मोड लिँदै सर्वोच्च अदालत समेत निशानामा परेपछि न्यायिक प्रणाली नै संकटमा परेको छ। अदालतको अभिलेख शाखा र डाटा सेन्टरमा भएको आगजनीका कारण करिब २४ हजारभन्दा बढी मुद्दाका फाइलहरू पूर्ण रूपमा नष्ट भएका छन्।
सर्वोच्च अदालतका अधिकारीहरूको अनुसार, अदालतले पछिल्ला वर्षहरूमा डिजिटलाइजेशनको दिशा लिएको थियो। अनलाइनबाटै मुद्दा दर्ता र पेशी तोक्ने प्रणाली सञ्चालनमा थियो। तर, डाटा सेन्टर जलेपछि सबै सफ्टवेयर बन्द भएको छ। यससँगै जिल्ला र उच्च अदालतमा समेत अनिश्चितकालीन समयका लागि मुद्दाको सुनुवाइ स्थगित भएको छ।
अधिकारीहरूले बताएका छन्, “हामीसँग बाँकी रहेका केही कागजात बाहेक सबै खरानी बने। हेटौँडा स्थित ब्याकअप सेन्टर समेत आक्रमणमा परेपछि अब सर्भर सञ्चालनको सम्भावना छैन।”
आगजनीकै क्रममा सर्वोच्चको तेस्रो तलामा रहेको संवेदनशील डाटा शाखामा भीड प्रवेश गरी नजिर संग्रह, फैसलाहरू र कम्प्युटरहरूमा आगो लगाएको थियो। दशकौँदेखि संकलन भएका महत्वपूर्ण अभिलेख एकैपटक नष्ट भएपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन्।
विशेष अदालतसमेत आंशिक रूपमा ध्वस्त हुँदा विशेषगरी भ्रष्टाचारसम्बन्धी मुद्दाका फाइलहरू खरानी भएका छन्। यसले न्यायिक कामकारबाही लामो समयसम्म प्रभावित गर्ने देखिन्छ।
आगो नियन्त्रणका लागि सीमित सुरक्षाकर्मी पर्याप्त नठहरिँदा ठूलो संख्यामा आएका प्रदर्शनकारीलाई रोक्न नसकिएको प्रहरी स्रोतले जनायो। सुरुमा प्रदर्शनकारीले कागजातहरू थुपारेर आगो लगाएका थिए, त्यसपछि विभिन्न तलामा छिरेर छानाछानी गरेर नष्ट गर्ने कार्य निरन्तर गरे।
अब सर्वोच्च अदालतसँग डिजिटल र कागजी दुवै अभिलेख गुमेपछि न्यायिक कामकाज कसरी अघि बढाउने भन्नेबारे उच्च तहमा सामूहिक निर्णय आवश्यक देखिएको छ।





