प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि राजनीतिक संकट थप गहिरिँदै गएको अवस्थामा जेन–जी आन्दोलनले नयाँ राजनीतिक विकल्प अघि सारेको छ। युवाहरूले अब देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र सक्षम युवा नेतृत्व आवश्यक भएको स्पष्ट पारेका छन्।
सोमबार सुरु भएको आन्दोलनमा १९ जना किशोरकिशोरीले ज्यान गुमाएपछि मंगलबार देशका विभिन्न भागमा हिंसा, आगजनी र तोडफोड मच्चियो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलले जेन–जीलाई वार्ताका लागि बोलाए पनि आन्दोलनकारीहरू तत्काल सडकमा नउत्री भर्चुअल माध्यमबाट प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छन्।
जेन–जीका अभियन्ता विकास यादव (२१) का अनुसार, आन्दोलनले अहिलेको युवा पुस्ताको निराशा र परिवर्तनको चाहनालाई उजागर गरेको हो। उनले भने, “हामीलाई व्यवस्था नै खराब लागेको होइन, तर यसभित्रका विकृति असह्य भएका कारण परिवर्तन आवश्यक भएको हो। अहिलेका सहिद र पीडित परिवारलाई क्षतिपूर्ति प्राथमिकतामा हुनुपर्छ।” यादवले संसद् विघटन र अन्तरिम सरकारमार्फत चुनावमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने माग अघि सारे।
जेन–जी मूभमेन्टकी अगुवा सपना गौतमले भने आन्दोलनलाई अहिंसात्मक बनाउने प्रतिबद्धता जनाइन्। “हामी तोडफोड र आगजनीको पक्षमा छैनौं। अब डिजिटल आन्दोलनमार्फत आफ्नो आवाज बुलन्द बनाउनेछौं,” उनले भनिन्। गौतमले तत्काल नेतृत्व बालेन शाहले सम्हाल्नुपर्ने प्रस्ताव समेत राखिन्।
त्यस्तै, आन्दोलनमा प्रत्यक्ष सहभागी नभए पनि भ्रष्टाचारविरोधी धारणा जनाउँदै दिविशा आचार्यले हिंसात्मक रूप लिएको घटनाप्रति दुःख व्यक्त गरिन्। अर्की सहभागी एलिसा बेलबासेले भने सांस्कृतिक सम्पदा र सर्वोच्च अदालतजस्ता संरचना ध्वस्त हुनु अस्वीकार्य भएको बताइन्।





