धनगढी: सुदूरपश्चिमका युवा तीव्र गतिका बलर हिक्मत महरा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि सुदूरपश्चिम रोयल्सका ‘आइकोनिक खेलाडी’ बनेका छन्।
धनगढी स्थित धनगढी क्रिकेट एकेडेमीमा आइतबार र सोमबार सम्पन्न ‘ट्यालेन्ट हन्ट’ कार्यक्रममा झन्डै ३०० जना प्रतिभावान खेलाडी सहभागी भएका थिए। प्रशिक्षक जगत टमटाको नेतृत्वमा रहेको छनोट टोलीले दुई चरणको मूल्यांकन पछि हिक्मतलाई उत्कृष्ट ठहर गर्दै ‘आइकोनिक’ उपाधि प्रदान गरेको हो।
हिक्मतले प्रतिस्पर्धामा १३१ किलोमिटर प्रतिघण्टा गतिमा बलिङ गर्दै सबैभन्दा तीव्र बलिङ र उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तैगरी, रोयल्सले डेभलपमेन्ट टोलीका लागि थप पाँच खेलाडी ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला चयन गरेको छ। आइकोनिक खेलाडीका रूपमा हिक्मतले अब सुदूरपश्चिम रोयल्सको मुख्य टोलीबाट एनपीएल खेल्ने अवसर पाउनेछन्।





