हुम्ला: दुर्गम जिल्ला हुम्लाबाट नेपालगञ्जका लागि सञ्चालन हुने हवाई सेवामा अब ‘सिट भागबन्डा (कोटा) प्रणाली’ लागू गरिएको छ। टिकट वितरणमा अव्यवस्था र स्थानीयबासीको गुनासो बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले नयाँ व्यवस्था लागू गरेको हो।
कात्तिक २९ गते प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सिमकोट–नेपालगञ्ज उडानका लागि सिटको व्यवस्थापन स्पष्ट र पारदर्शी हुने गरी कोटा प्रणाली अपनाउने निर्णय गरेको हो। बैठकमा स्थानीय तह, सम्बद्ध निकाय तथा एयरलाइन्सका प्रतिनिधिहरू सहभागी थिए।
कसरी गरिन्छ सिट बाँडफाँड?
बिरामीका लागि २ सिट आकस्मिक उपचार वा स्वास्थ्य कारणले यात्रा गर्नुपर्ने व्यक्तिले प्रशासन कार्यालयबाट सिफारिस प्राप्त गर्नुपर्नेछ। सरकारी कर्मचारीका लागि ३ सिट सरकारी कामको सिलसिलामा हुम्ला–नेपालगञ्ज आवतजावत गर्ने कर्मचारीका लागि तीन सिट छुट्याइएको छ। यी सिट प्रशासन कार्यालयले सिफारिस र व्यवस्थापन गर्नेछ, एयरलाइन्सको अनलाइन वितरणमा ३ सिट एयरलाइन्स कम्पनीहरूले आफ्ना उडानका लागि तीन सिट अनलाइन प्रणालीमार्फत खुला गर्नेछ। इन्टरनेट सेवा पहुँचमा नभएको अवस्थामा लाइनमार्फत पनि टिकट उपलब्ध गराइनेछ त्यस्तै सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६ का स्थानीय बासिन्दाका लागि एक–एक सिट छुट्याइएको छ। यात्रु सिफारिस सम्बन्धित वडा कार्यालयले गर्नेछ। बाँकी रहेका सिट एयरलाइन्सले आफ्नै प्राथमिकता, टिकट माग र यात्रु व्यवस्थापनको आधारमा वितरण गर्न पाउनेछन्।






