निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जनाएको छ। मंगलबार देशभरका १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता हुँदैछ। आयोगका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रकै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सञ्चालन हुनेछ र सबै क्षेत्रमा निर्वाचन अधिकृत खटाइसकिएको छ।
आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ र आचारसंहिता उल्लङ्घन नगर्न सबैलाई सचेत गराएको छ। उम्मेदवारी दर्ताका क्रममा उम्मेदवारबाट आचारसंहिता पालना गर्ने प्रतिबद्धता पनि लिइनेछ।
उम्मेदवार बन्न मतदाता सूचीमा नाम भएको, २५ वर्ष उमेर पूरा भएको, कानुनअनुसार अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने व्यवस्था छ। नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि, आवश्यक परे राजीनामा दिएको प्रमाण, प्रस्तावक र समर्थकको विवरण सहित मनोनयनपत्र बुझाउनुपर्नेछ।
उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारलाई धरौटीमा ५० प्रतिशत छुट दिइनेछ। साथै, भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन नरहेको, सरकारी बक्यौता नबाँकी रहेको, डीभी/पीआर नलिएकोलगायत स्वघोषणापत्र र सम्पत्ति विवरण पनि अनिवार्य रूपमा बुझाउनुपर्ने आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचनका लागि ११४ राजनीतिक दल दर्ता छन् भने समानुपातिकतर्फ ५७ दलले बन्दसूची बुझाइसकेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ सिट प्रत्यक्ष र ११० सिट समानुपातिक प्रणालीबाट चयन हुने संवैधानिक व्यवस्था छ।





