काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने को आधिकारिक फेसबुक पेज ‘लक’ भएको छ। पेजमा बाह्य व्यक्तिहरूले अनधिकृत पहुँच बनाउने प्रयास गरेपछि सुरक्षा कारणले पेज अस्थायी रूपमा बन्द गरिएको जनाइएको छ।
लामिछानेको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै बिहानैदेखि ह्याकरहरूले पटक-पटक आक्रमणको प्रयास गरेको दाबी गरेको छ। सो प्रयासपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै Meta Platforms ले पेज ‘लक’ गरिदिएको उल्लेख गरिएको छ।
सचिवालयका अनुसार पेज पूर्ण रूपमा सुरक्षित भई पुनः नियन्त्रणमा नआए सम्म त्यहाँबाट कुनै पनि नयाँ सामग्री पोस्ट गरिने छैन। साथै, पेज लक भएको अवधिमा कुनै शंकास्पद पोस्ट, सन्देश वा लिंक सार्वजनिक भए त्यसलाई आधिकारिक नमान्न आग्रह गरिएको छ।
हाल फेसबुकको सुरक्षा प्रक्रियाअनुसार पेज पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको र आधिकारिक जानकारीका लागि पार्टीको वेबसाइट तथा प्रमाणित सामाजिक सञ्जालहरू मात्र पछ्याउन अनुरोध गरिएको छ।





