बाजुरा। बाजुराका १० वटा मतदान स्थल अझै पनि यातायातको पहुँच बाहिर रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा रहेका कुल ७७ मतदान स्थल मध्ये १० स्थानमा सवारी साधन पुग्न नसक्ने अवस्था रहेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार त्रिवेणी नगरपालिका-५ किम्नी स्थित रामेश्वरी मावि, गौमुल गाउँपालिका-१ को अम्लिस मावि र जगन्नाथ गाउँपालिका-४ बागापानी स्थित मालिका मावि मतदान स्थलमा गाडी पुग्दैन।
त्यस्तै स्वामीकार्तिक खापर गाउँपालिका-१ को मण्डाली आधारभूत विद्यालय खोलीकोट र वडा नम्बर-२ को बिन्दासैन आधारभूत विद्यालय फयालगाउँमा पनि यातायात सुविधा छैन।
सबैभन्दा विकट मानिएको हिमाली गाउँपालिकाका पाँच मतदान स्थलमा कर्मचारीहरू तीन दिन पैदल हिडेर पुगेका छन्। हिमाली-१ को बिच्छया मावि र सुनन्दा मावि, वडा नम्बर-२ को ठूलाकोट आधारभूत विद्यालय तथा वडा नम्बर-३ का गंगा आधारभूत विद्यालय र हिमाल भक्ति प्राविमा मतदान केन्द्र तोकिएको छ।
प्र जि अ निरौलाका अनुसार जिल्लाका सबै मतदान स्थल र केन्द्रमा कर्मचारी पुगिसकेका छन्। हिमाली गाउँपालिका-१, २ र ३ का मतदान केन्द्रका मतपेटिका भने हेलिकप्टर मार्फत ढुवानी गरिने तयारी गरिएको छ।
बाजुरामा ७७ मतदान स्थल र ११८ मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल ८७ हजार ८६१ मतदाता रहेका छन्, जसमा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र अन्य दुई जना मतदाता छन्।





