काठमाडौं । रामचन्द्र पौडेल ले सरकारले सिफारिस गरेका अध्यादेश बारे आज संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन्।
शीतल निवासमा दिउँसो ४ बजेका लागि संविधान तथा कानुनविद्हरूलाई बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ। सरकारद्वारा सिफारिस गरिएका ६ वटा अध्यादेशबारे संवैधानिक, कानुनी र प्रक्रियागत पक्षमा छलफल हुने बताइएको छ।
सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्य सहित अध्यादेशहरू सिफारिस गरेको हो।
राष्ट्रपतिले संविधान अनुसार अध्यादेश जारी गर्नु अघि आवश्यक परामर्श लिने तयारी गरेका हुन्।





