समाचार

प्रचण्डको आरोप: बालेन नेतृत्वको सरकार निरङ्कुशता तर्फ

सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालेन शाह नेतृत्वको वर्तमान सरकार निरङ्कुशतातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन्।

बिहीबार रुकुम पश्चिमको सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ट्रेड युनियनदेखि विद्यार्थी संगठनसम्म खारेज गर्ने तयारी भइरहेको भन्दै सरकारको कदमप्रति चिन्ता व्यक्त गरे।

अध्यादेशमार्फत शासन सञ्चालन गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै उनले संसदलाई छलेर अध्यादेश ल्याउनु र बोलाइएको अधिवेशनसमेत रोक्नु लोकतन्त्र र संसदीय अभ्यासविरुद्ध भएको बताए। यस्तो कदम संविधानको मर्मविपरीत रहेको उनको भनाइ थियो।

प्रचण्डले सुकुमबासीको विषयमा पनि सरकारको कार्यशैलीको आलोचना गरे। वैकल्पिक व्यवस्था नगरी बल प्रयोग गरेर हटाउने काम गलत भएको उल्लेख गर्दै उनले प्रभावितहरूको वास्तविक अवस्था बुझेर मात्र समाधान खोज्नुपर्ने धारणा राखे।

उनले अघिल्लो समयमा सुकुमबासी व्यवस्थापनका लागि अपार्टमेन्ट निर्माणको पहल गरिएको स्मरण गर्दै अहिले सेना र सशस्त्र प्रहरी प्रयोग गरी हजारौँ परिवार विस्थापित बनाइएको आरोप लगाए।

सरकारले तत्काल सुकुमबासीको उचित व्यवस्थापन गर्नुपर्ने माग गर्दै उनले सकारात्मक काममा साथ दिने र गलत कामको विरोध जारी राख्ने पनि स्पष्ट पारे।

सेयर गर्नुहोस् :