समाज

मतपेटिका साटिने हल्ला भ्रामक: निर्वाचन आयोग

काठमाडौ। निर्वाचन आयोग ले मतपेटिका साटिने भनी फैलाइएका हल्लाहरू पूर्ण रूपमा निराधार र भ्रामक रहेको जनाएको छ।

बुधवार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले मतपेटिकाको सुरक्षामा कुनै पनि सम्झौता नहुने स्पष्ट पारे। उनले मतदान सम्पन्न भएपछि राजनीतिक दल र उम्मेदवारका प्रतिनिधिहरूको रोहवरमा मतपेटिका सिल गरिने र प्रतिनिधिहरू कै चिह्न अंकित लाहाछाप लगाइने जानकारी दिए।

भण्डारीका अनुसार मतगणना सुरु गर्नुअघि दलका प्रतिनिधिहरूले आफ्नो लाहाछाप जाँच गरी मुचुल्का तयार गरेपछि मात्र प्रक्रिया अघि बढाइन्छ। “हेलिकोप्टरमार्फत ढुवानी गर्दा मतपेटिका परिवर्तन हुन्छ भन्ने कुरा सत्य होइन” उनले भने।

आयोगले परम्परागत त्रिस्तरीय सुरक्षा व्यवस्था कायम रहने जनाएको छ। बाहिरी घेरामा नेपाली सेना, बीचको घेरामा सशस्त्र प्रहरी बल र भित्री घेरामा नेपाल प्रहरी परिचालन गरिनेछ।

दुर्गम क्षेत्रबाट मतपेटिका सुरक्षित रूपमा ढुवानी गर्न सेनाको हेलिकोप्टर प्रयोग गरिने बताउँदै आयोगले अफवाहमा विश्वास नगर्न सबैलाई आग्रह गरेको छ।

सेयर गर्नुहोस् :