काठमाडौँ। सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेकी छन्। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण अवकाशमा गएपछि मल्लले उक्त जिम्मेवारी सम्हालेकी हुन्।
मल्लको नेतृत्वमा अब सर्वोच्च अदालतसहित मातहतका अदालत तथा अन्य न्यायिक निकायहरूको न्याय प्रशासन सञ्चालन हुने भएको छ। अवकाशमा गएका राउतलाई मंगलबार साँझ मल्लले पुष्पगुच्छा प्रदान गर्दै बिदाइ गरेकी थिइन्।
यसैबीच न्यायपरिषद्ले मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको नियुक्ति राष्ट्रपतिबाट हुने र त्यसअघि संसदीय सुनुवाइ हुने प्रावधान रहेको छ।
परिषद्ले मल्ललाई नै सिफारिस गरेमा संसदीय सुनुवाइबाट अनुमोदनपछि उनी झण्डै साढे तीन वर्षसम्म न्यायालयको नेतृत्वमा रहने सम्भावना छ। अनुमोदन भएमा उनी नेपालको दोस्रो महिला प्रधानन्यायाधीश बन्ने इतिहास रच्नेछिन्। यसअघि सुशीला कार्की पहिलो महिला प्रधानन्यायाधीशका रूपमा रहिसकेकी छन्।





