काठमाडौँ। नेपाल टेलिकम ले मोबाइल डाटा सेवा प्रयोगसम्बन्धी लामो समयदेखि उठ्दै आएको गुनासो सम्बोधन गर्दै नयाँ व्यवस्था लागू गर्ने तयारी गरेको छ। अब डाटा प्याकेज सकिएपछि ग्राहकको मुख्य ब्यालेन्सबाट स्वतः रकम कट्ने प्रणाली अन्त्य गरिने भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशन अनुसार कम्पनीले सेवा सुधारका विभिन्न पहल अघि बढाएको हो। विशेषगरी ग्राहक सेवा, डिजिटल प्रणाली र डाटा व्यवस्थापनमा सुधार ल्याउने लक्ष्यसहित कार्य भइरहेको जनाइएको छ।
नयाँ व्यवस्था अनुसार डाटा प्याकेजको ९० प्रतिशत खपत भएपछि ग्राहकलाई पूर्वसूचना दिइनेछ। यसले बाँकी डाटा अवस्था बारे जानकारी दिँदै अनावश्यक खर्चबाट जोगिन मद्दत गर्ने विश्वास गरिएको छ। साथै पे–एज–यू–गो (PAYG) प्रणाली मार्फत प्याकेज बिना पनि इन्टरनेट प्रयोग गर्न सकिने विकल्प उपलब्ध गराइनेछ जस अन्तर्गत ग्राहकले प्रयोग अनुसार मात्र शुल्क तिर्नेछन्।
नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त प्रणाली हाल परीक्षण चरणमा रहेको छ। युएसएसडि (USSD) मार्फत खरिद गरिने डाटा प्याकमा तीन देखि पाँच दिन भित्र र मोबाइल एप प्रयोगकर्ताका लागि सातदेखि १० दिन भित्र पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने योजना रहेको छ।
यससँगै ग्राहक सेवा सहज बनाउन ‘वन टाइम केवाइसी’ प्रणाली लागू गरिने भएको छ। यस अन्तर्गत ग्राहकले एकपटक विवरण दर्ता गरे पछि पुनः त्यही प्रक्रिया दोहोर्याउनुपर्ने छैन। ई-सिम वितरण, सिम पुनःप्राप्ति, गुनासो व्यवस्थापन लगायत सेवा अनलाइन मार्फत उपलब्ध गराउने तयारी पनि भइरहेको छ।
मन्त्रालयले ‘एकल विन्दु सेवा’ सहायता कक्ष स्थापना गरी ग्राहकलाई एउटै स्थानबाट सबै सेवा उपलब्ध गराउने योजना पनि अघि सारेको छ। यसले सेवा लिन विभिन्न काउन्टर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने अपेक्षा गरिएको छ।
यसैबीच देशभर फोरजी सेवाको गुणस्तर सुधार गर्न थप नीतिगत व्यवस्था र आवश्यक स्रोत व्यवस्थापन गर्ने तयारी समेत अघि बढाइएको मन्त्रालयले जनाएको छ।





