बैतडी। नाम, ठेगाना र बुवाको नाम मिलेपछि प्रहरीले गरेको म्याद तामेलीका कारण बैतडीका एक युवकले अर्कै व्यक्तिको ठगी मुद्दामा अनाहकमा आर्थिक र मानसिक सास्ती व्यहोर्नुपरेको छ।
पाटन नगरपालिका–६ बिट्ठेउडाका मुकेश बिष्ट विरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगीको मुद्दा परेको भन्दै गत असार २२ गते प्रहरीले उनका परिवारलाई जानकारी गराएको थियो। दुई वर्षदेखि भारतको बेङ्गलुरमा मजदुरी गर्दै आएका मुकेशको परिवारले त्यसपछि उनलाई तत्काल नेपाल बोलायो।
अदालतमा उपस्थित हुनुपर्ने जानकारी पाएपछि मुकेश असार २८ गते बेङ्गलुरबाट घर फर्किएर काठमाडौं पुगे। तर, वकिल मार्फत अदालतमा मुद्दाबारे बुझ्दा आफू विरुद्धको नभई अर्कै व्यक्तिको पक्राउ पुर्जी रहेको खुलेपछि उनी आश्चर्यमा परे।
मुकेशका अनुसार मुद्दामा उल्लेख भएको व्यक्तिको नाम, ठेगाना र बुवाको नाम उनीसँग मिले पनि नागरिकता नम्बर भने फरक थियो।
‘करिब १५–२० दिन मानसिक तनावमा परें। बेङ्गलुरुबाट बैतडी हुँदै काठमाडौं आउँदा मात्रै ७० हजार रुपैयाँभन्दा बढी खर्च भयो,’ उनले भने, ‘अर्कै व्यक्तिको पक्राउ पुर्जीका कारण भएको यो क्षतिको जिम्मेवारी कसले लिने र क्षतिपूर्ति कसले दिने?’
मुकेशका आमाबुवा लेखपढ गर्न नजान्ने भएकाले प्रहरी घरमा पुगेपछि परिवार झनै तनावमा परेको थियो। पक्राउ पुर्जी बुझाउने क्रममा अदालतमा हाजिर हुनुपर्ने भन्दै कागजमा हस्ताक्षर गराइएको र मुद्दाको वास्तविक विवरण स्पष्ट नदिइएको परिवारको भनाइ छ।
परिवारलाई कानुनी प्रक्रियाबारे जानकारी नभएपछि कुवेतमा रहेका मुकेशका काका केशव समेत नेपाल आएका थिए। उनका अनुसार भतिजा मुकेशको रोजगारीमा समेत असर परेको छ भने आफू पनि कुवेतबाट नेपाल आउँदा ठूलो खर्च भएको छ।
‘लेखपढ गर्न नजान्ने बुबाआमालाई अदालतमा हाजिर हुनुपर्ने भन्दै कागजमा हस्ताक्षर गराइयो। छोरा विरुद्ध ठगीको मुद्दा परेको भनेपछि परिवार नै आत्तियो’ केशवले भने।
उनले राज्यका निकायको सामान्य त्रुटिका कारण परिवारले आर्थिक, मानसिक र सामाजिक क्षति व्यहोर्नुपरेको भन्दै सम्बन्धित निकायबाट क्षतिपूर्ति र जिम्मेवारीको माग गरेका छन्।
यता जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दीपककुमार रायले भने अदालतबाट प्राप्त म्याद तामेलीका आधारमा प्रहरी परिचालन गरिएको बताएका छन्।
उनका अनुसार ठगी मुद्दामा रहेका भनिएका मुकेश बिष्ट पाटन–६ कै अर्का व्यक्ति हुन्। अदालतबाट आएको पत्रमा नाम र ठेगाना मिलेका आधारमा सम्बन्धित व्यक्तिलाई अदालतमा उपस्थित हुन जानकारी गराइएको उनको भनाइ छ।
‘म्याद तामेलीका लागि पत्र आएको थियो। हामीलाई आएको पत्रमा नाम र ठेगाना मिलेकै आधारमा अदालतमा उपस्थित हुन जानकारी गराइएको हो, पक्राउ नै गरिएको होइन,’ डीएसपी रायले भने।
प्रहरीका अनुसार उक्त मुद्दा साइबर ब्युरो अन्तर्गतको हो। नाम, ठेगाना र बुवाको नाम मिले पनि नागरिकता नम्बर जस्ता महत्वपूर्ण विवरण यकिन नगरी म्याद तामेली गर्दा निर्दोष व्यक्तिले अनावश्यक दुःख पाएको भन्दै पीडित परिवारले सम्बन्धित निकायको जवाफ देहिता खोजेको छ।




