समाचार समाज

मौन अवधि आज मध्यरात देखि लागू, उल्लङ्घन गरे उम्मेदवारी खारेज देखि ६ वर्ष प्रतिबन्ध सम्म

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारको प्रचार-प्रसार अवधि आज मध्यरात देखि सकिदैछ। त्यससँगै मतदान सम्पन्न नहुन्जेल सम्म लागू हुने मौन अवधि सुरु हुने भएको छ।

निर्वाचन आयोगका अनुसार मतदान हुनुभन्दा ४८ घण्टा अगाडि देखि मतदान नसकिए सम्म मौन अवधि कायम रहनेछ। यस अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले प्रचार-प्रसार, भाषण, सभा-भेला, छलफल, जुलुस, समीक्षा तथा मत माग्ने कुनै पनि गतिविधि गर्न नपाइने स्पष्ट गरिएको छ।

आयोगका अनुसार मौन अवधिमा सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबरलगायत विद्युतीय माध्यमबाट मत माग्न, पोस्ट गर्न वा निर्वाचन प्रचार गर्ने कार्य पूर्ण रूपमा निषेध गरिएको छ। उम्मेदवार वा राजनीतिक दलको प्रचार हुने गरी कुनै समाचार, सूचना वा सामग्री प्रकाशन तथा प्रसारण गर्न पनि पाइँदैन।

मौन अवधिमा निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले आर्थिक लेनदेन, प्रलोभन, दबाब वा अन्य गैरकानुनी गतिविधि गरेको पाइएमा उम्मेदवारी खारेज हुनुका साथै, छ वर्ष सम्म कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन नपाउने गरी कारबाही गरिने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले जानकारी दिएका छन्। आयोगले यस्ता गतिविधिमाथि शून्य सहनशीलताको नीति अवलम्बन गरिने जनाएको छ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधि सुरु हुनुभन्दा अगाडि नै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका सबै प्रचार सामग्री हटाइसक्नुपर्ने व्यवस्था छ।

आयोगका अनुसार मौन अवधिको उद्देश्य मतदातालाई डर, दबाब र निरन्तर प्रचारबाट मुक्त गरी शान्त र भयरहित वातावरणमा विवेक पूर्ण निर्णय गर्न अवसर प्रदान गर्नु हो। यस अवधिमा निर्वाचन व्यवस्थापन, मतदान केन्द्रको तयारी, मतदाता लाइन व्यवस्थापन र शान्ति-सुरक्षाको मूल्याङ्कन गरिनेछ।

आउँदो निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ६५ राजनीतिक दल का उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। प्रत्यक्षतर्फ ३,४०६ उम्मेदवार र समानुपातिक प्रणालीतर्फ ३,१३५ उम्मेदवार चुनावी मैदानमा छन्। आयोगका अनुसार यसपटक एक करोड ८९ लाखभन्दा बढी मतदाता रहेका छन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल मा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ,निर्वाचन प्रहरी र अन्य सुरक्षा निकायका ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको छ।

निर्वाचन आयोगले मौन अवधिको पूर्ण पालना गर्न राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा आम नागरिक लाई आग्रह गरेको छ।

सेयर गर्नुहोस् :