समाचार

इन्धनजन्य सम्भावित समस्या आउन नदिन महानगरले ल्यायो ‘कार पुलिङ्’ कार्यक्रम

काठमाडौँ। काठमाडौँ महानगरपालिका ले इन्धन अभावलाई मध्यनजर गर्दै कर्मचारीका लागि ‘कार पुलिङ’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

महानगर की कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन संकटबाट उत्पन्न हुन सक्ने दीर्घकालीन नकारात्मक प्रभाव न्यूनीकरण गर्न उक्त निर्णय गरिएको हो। उनले वर्तमान अवस्थामा इन्धनको विवेक पूर्ण प्रयोग नगरे अत्यावश्यक सेवा नै प्रभावित हुन सक्ने बताइन्।

महानगरपालिकाले ४८ औँ कार्यपालिका बैठक मार्फत इन्धन कोटामा कटौती गरिसकेको छ। सोही निर्णय अनुसार अब कर्मचारीहरूलाई बसोबास क्षेत्रका आधारमा समूहमा विभाजन गरिएको छ।

कार्यक्रम अन्तर्गत एउटै क्षेत्रबाट कार्यालय आउने जाने कर्मचारीहरूले आलोपालो आफ्नै सवारी साधन प्रयोग गरी सहकर्मीलाई ल्याउने लाने व्यवस्था गरिएको छ। यसबाट सवारी साधनको संख्या घट्नुका साथै इन्धन खपतमा कमी आउने अपेक्षा गरिएको महानगरपालिकाले जनाएको छ।

महानगरले उक्त कार्यक्रमलाई सम्भावित इन्धन संकटको दीर्घकालीन समाधानतर्फको एक कदमका रूपमा लिएको छ।

सेयर गर्नुहोस् :