समाचार

बैंकको शाखामा पौने ३ करोड हिनामिनाको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ

बैतडी:महालक्ष्मी विकास बैंकको गोकुलेश्वर शाखामा झन्डै पौने तीन करोड रकम हिनामिना गरेको आरोपमा शाखा प्रबन्धकसहित चार जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शाखा प्रबन्धक सागर शाही वर्षीय, कर्जा विभागका धनन्जय पन्त वर्षीय, नगद विभागकी निर्मला साउद वर्षीय, र ग्राहक सहायता कक्षका अम्बादत्त पन्त वर्षीय रहेका छन्। दार्चुला प्रहरीले बैंकिङ कसुर सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट सात दिन म्याद लिएर अनुसन्धान अघि बढाइरहेको छ। पक्राउ पर्नेहरूलाई बैंकको सञ्चिती रकम करीब रु. २ करोड ८४ लाख ७६ हजार सात सय दुई हिनामिनाको उजुरीका आधारमा साउन २४ गते पक्राउ गरिएको थियो। बैंकको भल्टमा राखिएको उक्त रकम सम्बन्धी अनुगमन टोलीले अनियमितता पाएपछि चारै जनालाई निलम्बन गरिएको थियो।

प्रहरीका अनुसार उक्त रकममा सर्वसाधारण ग्राहकको पैसा सुरक्षित रहेको जनाइएको छ र बैंकको सेवा निरन्तर सञ्चालनमा छ।

डिएसपी प्रकाश दाहालले प्रारम्भिक अनुसन्धानमा कर्मचारीहरूले रकम हिनामिनामा संलग्न रहेको स्वीकार गरेको तर थप प्राविधिक जाँचपछि मात्र रकमको दुरुपयोग र अन्य विषयवस्तु स्पष्ट हुने बताए। प्रहरीले अनलाइन जुवा लगायतका अन्य गैरकानुनी क्रियाकलापमा रकम लगानी भएको आशंकामा पनि अनुसन्धान गरिरहेको छ।

ग्राहकहरूलाई कुनैपनि प्रकारको चिन्ता नलिन र बैंकसँग सजग रहन आग्रह गरिएको छ। बैंकका कर्मचारीहरूले पनि लेनदेनमा कुनै अवरोध नहुने जानकारी दिएका छन्।

सेयर गर्नुहोस् :