समाचार

रवि लामिछाने विरुद्ध उजुरी दिने जैसी स्वयं सहकारी ठगी प्रकरणमा पक्राउ

पोखरा। राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने विरुद्ध सहकारी ठगी प्रकरणमा जाहेरी दिएका मुख्य व्यक्ति कृष्ण जैसी स्वयं सहकारी ठगी आरोपमा पक्राउ परेका छन्।

कास्की प्रहरीले जैसीलाई धनुष सहकारी मा करिब ८२ लाख रुपैयाँ अपचलन गरेको आरोपमा नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी स्रोतका अनुसार उनी माथि सहकारीको रकम दुरुपयोग, फर्जी ब्याज प्रविष्टि तथा मिटर ब्याजमा लगानी गरेको आरोप छ। घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्यसमेत जारी रहेको प्रहरीले जनाएको छ।

यस अघि जैसीले आफू सूर्यदर्शन सहकारीको पीडित भएको दाबी गर्दै रवि लामिछाने विरुद्ध जाहेरी दिएका थिए। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले तयार पारेको वित्तीय विश्लेषण प्रतिवेदन अनुसार धनुष सहकारीमा कुल १९ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको देखिएको छ। उक्त प्रकरणमा जैसीसहित १३ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिवेदनमा जैसीले ऋण समिति सदस्यको हैसियतमा पदको दुरुपयोग गरी सहकारीको रकम व्यक्तिगत लाभका लागि प्रयोग गरेको, चर्को ब्याजदरमा लगानी गरी असुली गरेको तथा फर्जी ब्याज अभिलेखमार्फत रकम हिनामिना गरेको उल्लेख छ।

सेयर गर्नुहोस् :