नुवाकोट – त्रिशूली नदीको भीषण कटानका कारण नुवाकोट–रसुवा जोड्ने त्रिदेशीय सडक मार्ग बुधबारदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। कटानका कारण कतिपय बस्ती उच्च जोखिममा परेका छन्।
जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर–वेत्रावति–किस्पाङ–मैलुङ–रसुवागढी मार्गको विदुर – वेत्रावति–किस्पाङ खण्डमा करिब १०० मिटर सडक नदीले बगाएको हो। यसले किस्पाङ र शान्तिबजार जाने यातायात पूर्णरूपमा ठप्प पारेको छ।
कटानका कारण आसपासका बस्ती मात्र होइन, उत्तरगया गाउँपालिका कार्यालयसमेत प्रभावित भएको छ। चीनको तिब्बतस्थित लेन्देखोला हुँदै आएको बाढीले त्रिशूली नदीको बहाव असामान्य रूपमा बढेको र यसले नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा क्षति पुर्याएको जनाइएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे र रसुवाका प्रजिअ अर्जुन पौडेलसहित सुरक्षाकर्मीको संयुक्त बैठकले तत्काल मर्मत तथा पुनर्निर्माण सुरु गरी यातायात चाँडै सुचारु गर्ने र थप कटान रोक्ने कामलाई प्राथमिकता दिने निर्णय गरेको छ।





