काठमाडौं। नेपाल र युएई बीचको क्रिकेट टिम बीच त्रिवि क्रिकेट मैदानमा जारी पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल वर्षाका कारण अवरुद्ध भएको छ।
पहिलो इनिङ्स सकिन मात्र ७ बल बाँकी रहँदा अचानक परेको भारी वर्षाले खेल रोकिएको हो।
टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको अवस्थामा खेल रोकिएको थियो। कप्तान दीपेन्द्र सिंह ऐरी ३२ रन र सन्दीप लामिछाने २ रनमा अविजित रहेका थिए।
नेपालका ब्याट्सम्यान मध्ये बसिर अहमदले २०, कुशल मल्लले १७, कुशल भुर्तेलले १६, अर्जुन साउद र नन्दन यादवले समान १३-१३ रन जोडे। सन्दीप जोरा ६ रन, गुल्शन झा १ रनमा आउट भए भने शेर मल्ल शून्य रनमा पवेलियन फर्किए।
बलिङ तर्फ यूएईका मोहम्मद जुहैबले ३ विकेट, जुनैद सिद्धिकीले २ विकेट तथा हैदर अली र मोहम्मद अर्फानले समान १–१ विकेट लिए।
नेपाल र यूएईबीच दुई खेलको टी-२० शृंखला खेलिँदैछ। दोस्रो खेल मंगलबार हुने तालिका छ।





