काठमाडौं : किशोरीलाई आर्थिक प्रलोभनमा पारी डिम्ब बेचबिखन भइरहेका घटना सार्वजनिक भएपछि सरकारले पहिलोपटक निःसन्तान उपचार सेवाका लागि कानुनी मापदण्ड ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ स्वीकृत गर्दै आईयूआई र आईभीएफ सेवा सञ्चालनमा कडाइ गर्ने भएको हो।
नयाँ नियमअनुसार, महिलाले जीवनमा अधिकतम ६ पटक मात्र डिम्बदान गर्न पाउनेछन्। हरेक दानबीच कम्तीमा तीन महिनाको फरक अनिवार्य गरिएको छ। डोनरको उमेर २० देखि ३५ वर्षबीचको हुनुपर्नेछ भने स्वास्थ्य परीक्षणमार्फत सरुवा रोग नभएको प्रमाणित गर्नुपर्नेछ। विवाहित महिलाको हकमा श्रीमान–श्रीमती दुवैको सहमति आवश्यक हुनेछ।
पुरुष डोनरले भने १५ दिनको अन्तरालमा अधिकतम १० पटकसम्म मात्र वीर्यदान गर्न पाउने व्यवस्था छ। उमेर सीमा महिला सरह २० देखि ३५ वर्ष तोकिएको छ।
मापदण्डमा डोनरको पहिचान गोप्य राखिने प्रावधान गरिएको छ। स्वास्थ्य संस्थाले सम्पूर्ण विवरण सुरक्षित राख्ने तर प्रापकलाई पहिचान नखुलाउने व्यवस्था छ। कसैलाई प्रलोभनमा पारेर वा दबाबमा दान गराउन नपाइने उल्लेख गरिएको छ।






