खेलकुद

टप एन्ड टी–२० सिरिज : नेपाल सोमबार मेलबर्न स्टार्ससँग खेल्दै

काठमाडौं : अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले सोमबार आफ्नो तेस्रो खेल खेल्दैछ। डार्विनस्थित TIO स्टेडियममा हुने खेल नेपाली समयअनुसार ७:१५ बजे सुरु हुनेछ।

यसअघि नेपालले खेलेका दुवै खेलमा पराजय बेहोरेको छ। पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेश एसँग ३२ रनले पराजय भएकाे थियो। लगातार दुई हारपछि कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको टोली सोमबारको खेलमा जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।

प्रतिद्वन्द्वी मेलबर्न स्टार्सले भने सिरिजमा मिश्रित नतिजा ल्याएको छ। पहिलो खेलमा आफ्नै शहरी प्रतिद्वन्द्वी मेलबर्न रेनेगेड्ससँग ४ रनले हार बेहोरे पनि दोस्रो खेलमा होबार्ट हरिकेन्सलाई पराजित गर्दै आत्मविश्वास पुनः बढाएको छ। स्टार्सको नेतृत्व बिग ब्यासका अनुभवी खेलाडी साम हार्परले गरिरहेका छन्।

२४ अगस्टसम्म डार्विन र पामरस्टनमा जारी यस प्रतियोगितामा ११ टोली सहभागी छन्। नेपालले मेलबर्न स्टार्सपछि क्रमशः होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

सेयर गर्नुहोस् :