राजनीति

प्रचण्ड : गौर नरसंहारको आदेश माओवादी विरुद्ध लक्षित

पोखरा : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतले गौर नरसंहारसम्बन्धी दिएको परमादेश आफ्नै पार्टीलाई लक्षित भएको दाबी गरेका छन् ।

पोखरामा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले आदेश हेर्दा उपेन्द्र यादवमाथि केन्द्रित देखिए पनि वास्तविक उद्देश्य माओवादीलाई कमजोर बनाउने रहेको बताएका हुन्। उनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदच्युत गर्ने निर्णय समेत माओवादीमाथि नै प्रहार भएको टिप्पणी गरेका छन । “कुलमानलाई होइन, माओवादीलाई हटाइएको हो,” प्रचण्डले भने, “रगत पसिना बगाएर ल्याएको परिवर्तनलाई समाप्त गर्ने प्रयास भइरहेको छ ।”

प्रचण्डले संवैधानिक परिषद्मार्फत प्रमुख संस्थामा कब्जा जमाएर विपक्षी नेतामाथि मुद्दा लगाउने, पद हटाउनेजस्ता कदम चालिएको आरोप लगाए । उपसभामुखलाई हटाउने प्रयास तेस्रो पटक असफल भएको उल्लेख गर्दै उनले माओवादीलाई अझै दृढतापूर्वक उभिनुपर्ने बताएका छन ।

उनले समाजवादी क्रान्ति र अर्को आन्दोलनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन पनि दिएका छन। दशैंपछि केन्द्रीय समिति बैठकमार्फत संगठन विस्तार, समाजवादी शक्तिहरूबीच एकता र मंसिरतिर ठूलो सडक आन्दोलन गर्ने योजना रहेको उनले सुनाए ।

गुटबन्दीबारे चेतावनी दिंदै प्रचण्डले पार्टीभित्र विभाजन सिर्जना गर्ने गतिविधि स्वीकार्य नहुने स्पष्ट गरे । उनले उपमहासचिव जनार्दन शर्मा तर्फ संकेत गर्दै “आफ्नै खुट्टामा बञ्चरो नहान्न” आग्रह गरेका छन ।

सेयर गर्नुहोस् :