समाचार

भूमि विधेयकविरुद्ध जसपा नेपालको प्रदर्शन

भैरहवा : उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि विधेयकविरुद्ध भैरहवामा प्रदर्शन गरेको छ। रुपन्देही जिल्ला समितिको आयोजनामा भएको प्रदर्शन पार्टीको केन्द्र र प्रदेश समितिको निर्देशनअनुसार गरिएको हो।

सिद्धार्थनगर–४ स्थित रामजानकी हनुमान मन्दिरबाट सुरु भएको प्रदर्शन पिपरहिया चोक, गल्लामण्डी हुँदै मिलनचोकमा पुगेर विरोध सभामा परिणत भयो।

सभामा बोल्दै जसपा रुपन्देही अध्यक्ष सियाराम यादवले आन्दोलन बाध्यतावश सुरु भएको बताए। केन्द्रीय सदस्य कैलाश गुरुङले सरकारले किसानको समस्या समाधान गर्न नसकेको भन्दै आन्दोलनलाई कमजोर ठाने अझ सशक्त बनाइने चेतावनी दिए।

त्यस्तै, केन्द्रीय सदस्य निलम यादवले भूमि विधेयक जनताको हितमा नभई भू–माफिया र जग्गा दलालको पक्षमा रहेको आरोप लगाइन्। उनले सरकारले वनजंगल विनाश गरेर मधेशलाई मरुभूमि बनाउन खोजेको भन्दै विधेयकविरुद्ध सडकमा उत्रनुपरेको बताइन्।

जसपाले विधेयक सुरुदेखि नै विरोध गर्दै आएको छ। पार्टीको दाबी अनुसार, यो कानुनले अवैध जंगल कटानीलाई प्रोत्साहन गर्ने, भूमि व्यापारलाई वैधता दिने र तराई–मधेश क्षेत्रमा मरुभूमिकरणको खतरा बढाउनेछ।

सेयर गर्नुहोस् :