समाचार

संसद्‍मा आज प्रधानमन्त्री ओलीको विशेष सम्बोधन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्न लागेका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले शनिबारदेखि सुरु हुने आफ्नो चीन भ्रमणबारे सांसदलाई जानकारी दिने तयारी छ।

परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमअनुसार ओली भदौ १४ देखि १८ गतेसम्म चीनको तियानजिनमा हुने शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुनेछन्। भ्रमणअघि संसद सम्बोधन गरेर प्रधानमन्त्रीले विदेश यात्रा, छलफल हुने एजेन्डा र नेपालका प्राथमिकता स्पष्ट पार्ने बताइएको छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्च नेतासँग भेट्ने कार्यक्रम तय भएको छ। साथै, उनले लिपुलेक विवादमा भारत र चीन दुवैसँग स्पष्ट र ठाडो धारणा राख्ने बताएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार संसद हुने सम्बोधन नेपालका कूटनीतिक हित, छिमेकीसँगको सम्बन्ध र बहुपक्षीय सहयोगबारे सरकारको दृष्टिकोण प्रस्तुत गर्ने अवसर हुनेछ।

सेयर गर्नुहोस् :