काठमाडौँ :सरकारले अब प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा लगानी नगर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयका अनुसार सरकारले अब प्रतिफलयुक्त आयोजना, वैदेशिक सहायतामा सञ्चालित आयोजना र नागरिकप्रतिको दायित्व पूरा गर्नुपर्ने विषयका आयोजना बाहेक अन्य सार्वजनिक संस्थानमा सेयर वा ऋण लगानी नगर्ने नीति लिएको हो।
गत असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय अनुमोदन गरेको हो। यससँगै सरकारले आर्थिक अवस्था कमजोर भएका तथा सावाँ, ब्याज र प्रतिफल दिन नसक्ने सार्वजनिक संस्थानमा थप लगानी नगर्ने स्पष्ट गरेको छ। रोक्का अवधिभर सरकारी लगानी भएका संस्थाहरूले हकप्रद सेयर वा थप सार्वजनिक निष्कासन (एफपीओ) ल्याउन पाउने छैनन्।
अर्थ मन्त्रालयले नेपाल सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गर्नुपर्ने भाखा नाघेका सावाँ तथा ब्याज असुल गर्न सम्बन्धित मन्त्रालयहरूलाई तदारुकता देखाउन निर्देशन समेत दिएको छ।
यो निर्णयले सरकारी लगानीलाई नतिजामुखी बनाउने र घाटामा रहेका संस्थाहरूलाई पुनः मूल्यांकन गर्ने संकेत गरेको छ।





