काठमाडौँ :नेपालको वाम राजनीतिमा फेरि नयाँ हलचल सुरु भएको छ। माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा आठ वामपन्थी राजनीतिक दल एकै मोर्चातर्फ जुटेका छन्। आइतबार साँझ राजधानीमा बसेको महत्वपूर्ण राजनीतिक छलफलपछि ती दलहरूबीच १८ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
यो सहमतिसँगै प्रचण्ड फेरि शक्ति सन्तुलनको केन्द्रमा उभिएका छन्। मार्क्सवाद–लेनिनवादलाई भावी संयुक्त पार्टीको वैचारिक आधार बनाइने निष्कर्षसहित माओवादी आन्दोलनले पछिल्ला वर्षमा अपनाएको ‘प्रचण्डपथ’ औपचारिक रूपमा त्यागिने प्रचण्डले घोषणा गरेका छन्। अब संयुक्त वाम शक्तिले सशस्त्र होइन, शान्तिपूर्ण र लोकतान्त्रिक प्रक्रियाबाट समाजवादको यात्रा अघि बढाउने जनाएको छ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको समन्वयमा अघि बढाइएको यस वाम एकता प्रक्रियामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टीसहित विप्लव समूहको चिरन पक्ष सहभागी छन्। कार्तिक १९ गते राष्ट्रिय एकता सम्मेलन आयोजना गरिने र त्यही अवसरमा घोषणापत्र, अन्तरिम विधान तथा केन्द्रीय संरचना औपचारिक रूपमा सार्वजनिक गरिने तयारी भएको छ। संयुक्त पार्टीको चुनाव चिन्ह पाँचकुने तारा प्रस्तावित छ भने नाम भने अझै टुंगो लागेको छैन। छ महिनाभित्र राष्ट्रिय एकता महाधिवेशन गर्ने लक्ष्य लिइएको छ।
यसबीच, एकताप्रति आन्तरिक असहमति पनि सतहमा आएको छ। माओवादी केन्द्रका सचिवालय सदस्य जनार्दन शर्माले आइतबारको बैठक बहिष्कार गर्दै प्रचण्डको नेतृत्वमा भइरहेको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले यसलाई अनुशासनहीनता भन्दै कारबाहीको संकेत गरेका छन्। यद्यपि प्रचण्डले पार्टीभित्र मतभेद रहे पनि एकता अभियान प्रभावित नहुने दाबी गरेका छन्।





