काठमाडौं : अब ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले देशभरका आन्तरिक उडानमा आधा मूल्यमै यात्रा गर्न सक्ने भएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको सहमति अनुसार, ज्येष्ठ नागरिकका लागि हवाई भाडामा ठूलो छुट लागू गरिने भएको हो।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा संघका अध्यक्ष मनोज कार्की र विभिन्न वायुसेवा कम्पनीका प्रतिनिधिहरू सहभागी थिए। बैठकले ७० वर्षदेखि माथिका यात्रुलाई ५० प्रतिशत, ७५ वर्षभन्दा माथिलाई ७० प्रतिशत, र ८० वर्ष नाघेका यात्रुलाई ८० प्रतिशतसम्म छुट दिने निर्णय गरेको हो।
प्राधिकरणका अनुसार यो छुट सरकारले तोकेको अधिकतम हवाई भाडा दरमा लागू हुनेछ र सबै आन्तरिक सेक्टरमा लागू हुनेछ। साथै, उमेरकै आधारमा मात्रै नभई फरक क्षमता (अपाङ्गता) भएका यात्रुहरूलाई पनि न्यूनतम ५० प्रतिशत छुट उपलब्ध गराइने छ।
प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई यो व्यवस्था आइतबारदेखि नै कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।






