समाचार

रवि र छवि को मुद्दा आज न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको इजलासमा

बुटवल : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग सम्बन्धित सहकारी ठगी तथा संगठित अपराध मुद्दाको सुनुवाइ आज उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हुँदैछ। साप्ताहिक पेसीअनुसार आजको एक नम्बर इजलासमा न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दा विचार गर्ने भएको हो। अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार यो मुद्दा आजको सूचीको तेस्रो नम्बरमा परेको छ।

यसअघि कात्तिक १३ गते तोकिएको तारिखमा छविलाल जोशी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको थियो। त्यसभन्दा अघि, न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुईवटै मुद्दा प्रकृतिमा मिल्दोजुल्दो भएकाले एकसाथ राखी सुनुवाइ गर्न आदेश दिएको थियो।

रवि लामिछानेले आफूले सहकारीको अपचलनमा परेको रकममध्ये आफ्नो भागबमोजिमको बिगो (२ करोड ७४ लाख ८४ हजार रुपैयाँ) दाखिला गरेको भन्दै थुनाबाहिर रहेर मुद्दा लड्न अनुमति मागेका थिए। त्यस्तै, अदालतले सुनुवाइ अघि जोशीसम्बन्धी फाइल पनि पेश गर्न आदेश दिएको थियो।

यसअघि रु १० करोड ९९ लाख ३६ हजारको सामूहिक बिगो रकम तोकिएको यो सहकारी ठगी प्रकरणमा रविलगायतका प्रतिवादीमाथि अभियोगपत्र दर्ता गरिएको छ। लामिछानेले आफू सहकारीमा न त सञ्चालक, न ऋणी, न शेयर सदस्य रहेको दावी गर्दै आइसकेका छन्। तर जिल्ला अदालत रुपन्देही र उच्च अदालत बुटवलले उनलाई थुनामै राखेर मुद्दा अघि बढाउने निर्णय गरिसकेका छन्।

सेयर गर्नुहोस् :