काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको उक्त भेटमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन का लागि शान्ति सुरक्षा र आपसी सहकार्यका विषयमा छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले निर्वाचन भयरहित र प्रभावकारी रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै भारत सधैं नेपालको लोकतान्त्रिक अभ्यासमा सकारात्मक र सहयोगी रहँदै आएको बताए। उनले नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ बनाउँदै अघि बढाउने प्रतिबद्धता पनि जनाएका छन ।
गृहमन्त्री अर्यालले देश अहिले संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै शान्ति सुरक्षा, सुशासन र भ्रष्टाचाररहित सेवा प्रवाह सरकारको प्रमुख प्राथमिकता रहेको बताए। उनले आगामी निर्वाचन तोकिएकै मितिमा शान्तिपूर्ण ढंगमा सम्पन्न गर्न सरकारले सबै संयन्त्र सक्रिय बनाएको जानकारी दिए। मन्त्री अर्यालले नेपालप्रति भारतले देखाएको मित्रवत भावनाप्रति धन्यवाद ज्ञापन गर्दै दुई देशबीचको सम्बन्ध निरन्तर आपसी विश्वास र सहकार्यको आधारमा अघि बढ्ने विश्वास व्यक्त गरे।
त्यसैगरी, उनले नेपाल–भारतबीचको खुला सीमाको संवेदनशीलताका कारण निर्वाचन अघि र निर्वाचनका समयमा सीमा सुरक्षा व्यवस्थापनमा भारतको सहयोग महत्त्वपूर्ण रहने धारणा पनि राखेका छन ।





