काठमाडौं:प्रधानमन्त्री सुशीला कार्की र श्रीलंकाका प्रधानमन्त्री डा. हरिणी अमरसुरिया बीच आज साँझ टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा श्रीलंकाली प्रधानमन्त्री अमरसुरियाले नेपाल सरकारले बाढी प्रभावितहरूको राहत एवं उद्धारका लागि उपलब्ध गराएको २ लाख अमेरिकी डलर बराबरको सहयोग प्रति आभार व्यक्त गरिन्।
नेपालले विपद्मा परेका श्रीलंकाली जनताको सहयोगार्थ आपत्कालीन सहायता प्रदान गरेपछि अमरसुरियाले प्रधानमन्त्री कार्कीलाई टेलिफोन गरेका हुन्।
उनले भनिन्,“हामी कहाँ विपद् परेका बेला सहयोग पठाइदिनुभयो धन्यवाद छ। आभारी छौँ।” जवाफमा प्रधानमन्त्री कार्कीले नेपाल र श्रीलंकाबीचको छिमेकी भावनालाई जोड दिँदै भनिन्, “छिमेकी देश भएकाले एक–अर्कालाई कठिन घडीमा साथ दिनु नै हाम्रो कर्तव्य हो। यो कठिन परिस्थिति सामना गर्न नेपाल तपाईँहरूसँगै छ।”
दुवै देशका प्रधानमन्त्री बीच आज साँझ ४ मिनेट कुराकानी भएको प्रधानमन्त्रीका सचिवालयले जनाएको छ।





