समाचार

रास्वपासँग एकता सहमति गरेका उज्यालो पार्टीका नेता छुट्टै समानुपातिक सूची लिएर निर्वाचन आयोगमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने सहमति गरिसकेको उज्यालो पार्टी नेपालका शीर्ष नेता नै छुट्टै समानुपातिक उम्मेदवारको बन्दसूची बोकेर निर्वाचन आयोग पुगेका छन्।

आयोग स्रोतका अनुसार शुक्रबार दिउँसो उज्यालो पार्टी नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय एक जना केन्द्रीय सदस्यसहित आयोग पुगेका थिए। उनीहरूले ११० जनाको समानुपातिक बन्दसूची पेश गर्न पाउनुपर्ने माग राखे पनि समयसीमा सकिएकाले आयोगले सूची बुझ्न अस्वीकार गरेको हो।

उनीहरूले ‘५० हजार रुपैयाँ बुझाएर रसिद लिइसकेको’ दाबी गर्दै कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसमक्ष सूची दर्ताको आग्रह गरेका थिए। तर कानुन शाखाबाट समयसीमा नाघिसकेको भन्दै कुनै हालतमा सम्भव नहुने जवाफ पाएपछि उनीहरू फर्किएका हुन्।

अनुपकुमार उपाध्याय स्वयं रास्वपाको समानुपातिक सूचीमा समावेश व्यक्ति हुन्। उनले रास्वपासँगको एकता सहमतिमा समेत हस्ताक्षर गरेका छन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!
सेयर गर्नुहोस् :