काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले शनिबार आयोजित कार्यक्रममा घोषणापत्र सार्वजनिक गर्दै शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव अघि सारेका छन।
घोषणापत्रमा राजसंस्था पुनर्स्थापना, प्रदेश संरचना खारेज गरी केन्द्र र स्थानीय तहसहित दुई तहको शासन व्यवस्था कायम गर्ने तथा हिन्दु राष्ट्र स्थापना गर्ने एजेन्डा समेटिएको छ। साथै एक व्यक्ति दुई कार्यकाल भन्दा बढी कार्यकारी पदमा बस्न नपाउने व्यवस्था र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने प्रस्ताव पनि अघि सारिएको छ।
राप्रपाले भ्रष्टाचार नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेको छ। २०४६ सालपछिका उच्च पदस्थ नेता र कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय नागरिक आयोग गठन गर्ने तथा अवैध सम्पत्ति जफत गर्ने कानुनी प्रबन्ध मिलाइने उल्लेख गरिएको छ। भ्रष्टाचारसम्बन्धी सूचना दिनेलाई संरक्षण र प्रोत्साहन गर्न सूचक संरक्षण ऐन ल्याइने पनि घोषणापत्रमा जनाइएको छ।
सार्वजनिक पद धारण गर्ने व्यक्तिलाई स्वार्थको द्वन्द्व सम्बन्धी कानुनी दायरामा ल्याउने, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन सुधार गर्ने तथा संवैधानिक नियुक्तिमा राजनीतिक हस्तक्षेप अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। न्यायपालिकाको विश्वसनीयता पुनर्स्थापना गर्न पुनर्संरचना र पुनर्नियुक्तिको व्यवस्था गरिने प्रस्ताव समेत समेटिएको छ।
जलस्रोत, पर्यटन, कृषि, सूचना–प्रविधि र सुशासनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन आर्थिक विकासतर्फ अघि बढ्ने नीति पार्टीले सार्वजनिक गरेको छ।




