काठमाडौ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अब नेपाली कांग्रेसको भ्रातृ संगठन नरहने निर्णय गरेको छ।
शुक्रबार बसेको नेविसंघको सिनेट बैठकले संगठनलाई पूर्ण रूपमा स्वायत्त बनाउने निष्कर्ष निकालेको हो। बैठक पछि प्रवक्ता सुरज सेजुवालले पार्टीको प्रत्यक्ष निर्देशनमा चल्नुपर्ने बाध्यताले विद्यार्थी आन्दोलन प्रभावकारी बन्न नसकेको बताए।
उनका अनुसार अब नेविसंघले स्वतन्त्र रूपमा आफ्ना कार्यक्रम र गतिविधि सञ्चालन गर्नेछ। “भ्रातृ संगठन नरहने निर्णयको अर्थ पार्टी परित्याग भने होइन,” सेजुवालले भने, “हामी कांग्रेस कै मूल्यमान्यता र विचारधारामा आधारित रहनेछौ।”
नेविसंघले बीपी कोइरालाद्वारा प्रतिपादित सिद्धान्तलाई आफ्नो मार्गदर्शक मान्दै अघि बढ्ने जनाएको छ।





