काठमाडौ। सरकारले जेनजी आन्दोलनका घटना बारे गठित कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ। लामो समय देखि गोप्य राखिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ मन्त्रीहरूसँग आन्तरिक छलफल गरिरहेकी छन्।
उच्च सरकारी स्रोतका अनुसार प्रतिवेदन आज भोलिमै सार्वजनिक हुनसक्ने सम्भावना छ। यद्यपि प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले प्रतिवेदन सार्वजनिक हुने बारे आफूलाई जानकारी नभएको बताएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबिन गर्न गठित आयोगले फागुन २४ गते सरकारलाई प्रतिवेदन बुझाएको थियो। मन्त्रिपरिषद्ले १ चैत मै प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरे पनि हाल सम्म सार्वजनिक गरिएको थिएन। यसबीच आन्दोलनकारी समूह तथा नागरिक समाजले प्रतिवेदन सार्वजनिक गर्न निरन्तर दबाब दिँदै आएका छन्।
उच्च पदाधिकारीविरुद्ध कारबाही सिफारिस
स्रोतका अनुसार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ। उनीहरूलाई १०-१० वर्ष कैद सजायको सिफारिस गरिएको बताइएको छ।
यस्तै सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याललाई तीन वर्ष कैद सिफारिस गरिएको छ। अन्य रूपमा तत्कालीन गृहसचिव गोकर्ण मणि दुवाडी, काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजाल तथा प्रहरी अधिकारी सिद्धिविक्रम शाही माथि पनि कारबाही सिफारिस गरिएको छ।
सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीहरूलाई विभागीय कारबाहीको सिफारिस समेत गरिएको स्रोतले जनाएको छ।
दबाब र विवादबीच सरकारको कदम
जेनजी आन्दोलनका अगुवा र नागरिक समूहले प्रतिवेदन सार्वजनिक गर्न माइतीघर मण्डलामा दैनिकजसो प्रदर्शन गर्दै आएका छन्। साथै प्रमुख राजनीतिक दलहरूले समेत प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब दिँदै आएका छन्।
यद्यपि आयोग गठन प्रक्रिया देखि नै विवादमा परेकाले यसको निष्कर्ष र सिफारिसप्रति पनि प्रश्न उठ्ने सम्भावना रहेको जानकारहरू बताउँछन्। एक उच्च अधिकारीका अनुसार, प्रतिवेदन सार्वजनिक हुनु सकारात्मक भए पनि त्यसका आधारमा अघि बढ्दा सरकार सचेत हुनुपर्ने अवस्था छ।
यसैबीच राष्ट्रिय मानव अधिकार आयोगले पनि छुट्टै छानबिन प्रतिवेदन तयार पार्दै तत्कालीन सुरक्षा नेतृत्व विरुद्ध कारबाही सिफारिस गरेको जनाएको छ। सरकारले नयाँ सरकार गठन अघि नै प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको जनाइएको छ।





