सुर्खेत। सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा प्रहरीले विस्तृत अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरेको छ। अनुसन्धान बाट घटनामा सामूहिक बलात्कार नभएको निष्कर्ष निकाल्दै प्रहरीले एक नाबालकलाई मुख्य अभियुक्त ठहर गरेको छ भने उनी विरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजायको माग सहित सिफारिस गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रारम्भिक अनुसन्धान, बयान र फरेन्सिक रिपोर्टका आधारमा इनिशा माथि एकल रूपमा जबरजस्ती करणी भएको देखिएको छ। घटनाका क्रममा संवेदनशील अङ्गमा गम्भीर चोट लागी अत्यधिक रक्तश्राव हुँदा उनको मृत्यु भएको निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
भेरी अस्पताल, बाँकेका फरेन्सिक विशेषज्ञ डा. अर्विन शाक्य नेतृत्वको टोलीले तयार पारेको पोस्टमार्टम रिपोर्टमा पनि यौन हिंसाका क्रममा शरीरका भित्री अङ्गहरूमा चोटपटक लागी अत्यधिक रक्तश्राव भएको उल्लेख गरिएको छ। रिपोर्टअनुसार यौनाङ्गदेखि पाठेघरसम्म चोट पुगेको पाइएको छ, जसका कारण उनको ज्यान गएको ठहर गरिएको हो।
प्रहरीले घटनामा संलग्न अन्य तीन नाबालकविरुद्ध पनि कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ। मुख्य अभियुक्त भनिएका किशोरले बयानका क्रममा इनिशा बेहोस भएपछि अस्पताल लैजान अन्य तीन जनालाई सहयोगका लागि बोलाएको बताएका थिए । उनीहरूले पीडितलाई अचेत अवस्थामा फेला परेपछि तत्काल अस्पताल नपुर्याएको, प्रहरी तथा परिवारलाई समयमै जानकारी नगराएको र घटनास्थलमा उनीहरूको भूमिका शंकास्पद रहेको आधारमा उक्त मुद्दा सिफारिस गरिएको छ।
इनिशा विक गुर्भाकोट नगरपालिका-६ बडाखोलीकी स्थायी बासिन्दा हुन्। उनी हाल वीरेन्द्रनगर नगरपालिका-१ मा परिवारसँग बस्दै आएकी थिइन्। फागुन २३ गते बिहान करिब ६ बजे ट्युसन पढ्न जाने भन्दै घरबाट निस्किएकी उनी सोही दिन बिहान करिब ९ बजे वीरेन्द्रनगर-४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा अचेत अवस्थामा फेला परेकी थिइन्। अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन प्रहरीले घटनास्थल बाटै मुख्य अभियुक्त भनिएका नाबालकलाई नियन्त्रणमा लिएको थियो।
घटना पछि पीडित परिवार र आफन्तहरूले सामूहिक बलात्कारपछि हत्या भएको आशंका गर्दै अन्य व्यक्ति विरुद्ध समेत किटानी जाहेरी दिएका थिए। सोही आधारमा प्रहरीले अन्य तीन नाबालकलाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (CIB), पोलिग्राफ परीक्षणसहित विभिन्न प्राविधिक तथा विशेषज्ञ टोली परिचालन गरिएको प्रहरीले जनाएको छ। यद्यपि केही प्राविधिक तथा फरेन्सिक रिपोर्टहरू आउन अझै बाँकी रहेको र ती रिपोर्टहरू अध्ययनका लागि विदेश पठाउनुपर्ने अवस्था रहेको पनि प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार अब सरकारी वकिल कार्यालयमार्फत अदालतमा मुद्दा दायर गरिनेछ। घटनाको अन्तिम फैसला भने अदालतले प्रमाण र कानुनी प्रक्रियाका आधारमा गर्नेछ।





