समाचार

बालेन सरकार पछि अमेरिकाले नेपालका लागि ट्राभल एड्भाइजरीको जोखिम स्तर घटायो

काठमाडौ। संयुक्त राज्य अमेरिकाले नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि जारी गर्दै आएको ट्राभल एड्भाइजरीको जोखिम स्तर घटाएको छ। बालेन शाह नेतृत्वको स्थानीय सरकार आएपछि मंगलबार अद्यावधिक गरिएको सूचनामा नेपालको सुरक्षा अवस्था सुधार भएको उल्लेख गर्दै जोखिम स्तरलाई लेभल २ (अतिरिक्त सतर्कता अपनाउनुपर्ने) मा झारिएको हो।

अद्यावधिक एड्भाइजरीमा सन् २०२५ सेप्टेम्ब रदेखि सुरु भएका देशव्यापी प्रदर्शनहरू हाल रोकिएको र समग्र सुरक्षा अवस्था स्थिर रहेको जनाइएको छ। यद्यपि, सहरी क्षेत्रमा पूर्वसूचना विना नै प्रदर्शन हुन सक्ने र ती हिंसात्मक बन्न सक्ने सम्भावना रहेको भन्दै अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको छ।

स्वास्थ्य सेवातर्फ, काठमाडौंका अस्पतालहरू अन्य क्षेत्रभन्दा राम्रो भए पनि बिरामीको चाप, उपकरण तथा औषधिको अभाव र उपचारअघि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थाबारे जानकारी दिइएको छ। साथै, गम्भीर अवस्थामा ‘मेडिकल इभ्याकुएसन’ आवश्यक पर्न सक्ने भएकाले स्वास्थ्य बिमा गर्न सुझाव दिइएको छ।

प्राकृतिक जोखिमका हिसाबले नेपालमा भूकम्प, बाढी र पहिरोको सम्भावना निरन्तर रहने चेतावनी पनि दिइएको छ। विशेषगरी मनसुन (जुन-सेप्टेम्बर) का बेला सडक अवरुद्ध हुने र उद्धार कार्यमा कठिनाइ हुन सक्ने उल्लेख छ।

यात्रुहरूलाई ‘स्मार्ट ट्राभलर इन्रोलमेन्ट प्रोग्राम’ मा दर्ता हुन, स्थानीय समाचारमा अद्यावधिक रहन, भिडभाडबाट टाढा बस्न र आपतकालीन उद्धारसहितको भरपर्दो ट्राभल बिमा गर्न अमेरिकाले जोड दिएको छ।

सेयर गर्नुहोस् :