धनगढी। बाजुरा र हुम्लाको सीमा क्षेत्रमा पर्ने लाम्पाटामा सीमा विवादका कारण उत्पन्न तनाव पछि सुरक्षा व्यवस्था कडा पारिएको छ । घटना पछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उक्त क्षेत्रमा परिचालन गरिएको हो ।
बाजुराको हिमाली गाउँपालिका-३ स्थित लाम्पाटामा हुम्लाको खार्पुनाथ गाउँपालिका-२ थलीका स्थानीयको समूहले हिमाली-३ का वडा सदस्य पेमा गारा गुरुङसहित पाँच जना माथि कुटपिट गरेको आरोप छ । सीमा विवाद र प्रहरी चौकी निर्माणको विषयलाई लिएर दुई पक्षबीच तनाव बढेको स्थानीयले बताएका छन् ।
घटना पछि जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० सदस्यीय टोली लाम्पाटातर्फ पठाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलको वस्तुगत अवस्था बुझ्ने तथा सुरक्षा स्थिति मूल्यांकन गर्ने कार्य गरिरहेको छ ।
प्रहरीका अनुसार शनिबार प्रस्थान गरेको टोली दुर्गम भूगोलका कारण आइतबार मात्र लाम्पाटा पुग्नेछ । सशस्त्र प्रहरीतर्फको टोलीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई)ले गरिरहेका छन् ।
यस अघि ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान अन्तर्गत धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली साइपाल बेसक्याम्पतर्फ जाँदा स्थानीयको अवरोध पछि बीचबाटै फर्किएको थियो ।
कुटपिटमा घाइते भएका वडा सदस्य सहित पाँच जनाको काठमाडौंमा उपचार गरिएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य भएपछि सबैलाई डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।
लाम्पाटा क्षेत्रमा सीमा निर्धारण, प्रशासनिक अधिकार र सुरक्षा संरचना स्थापनाको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको स्थानीय बताउँछन् ।




