राजनीति

एमालेसँग सहकार्यको संकेत, प्रचण्डले भने, ‘मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्’

विराटनगर। पुष्पकमल दाहालले नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग तत्काल कार्यगत सहकार्य अघि बढ्ने बताएका छन्।

विराटनगरमा आयोजित प्रदेश स्तरीय बैठकलाई सम्बोधन गर्दै उनले तत्काल पार्टी एकताको विषयमा छलफल नभए पनि संसद्, सडक आन्दोलन तथा आगामी प्रदेश र स्थानीय तह निर्वाचनमा एमालेसँग सहकार्य गर्ने समझदारी बनिरहेको जानकारी दिए।

उनका अनुसार समाजवादी मोर्चामा आबद्ध दलहरू बीच पनि छिट्टै सहकार्य र एकताको प्रक्रिया अघि बढ्नेछ। वाम शक्तिहरूबीचको सहकार्यले राजनीतिक रूपमा नयाँ परिस्थिति सिर्जना गर्न सक्ने उनको दाबी थियो।

प्रचण्डले संसद्भित्र र बाहिर साझा एजेन्डामा सहकार्य गर्दै वामपन्थी शक्तिलाई बलियो बनाउने लक्ष्य रहेको उल्लेख गरे। उनले तत्काल पार्टी एकता नभए पनि संयुक्त संघर्ष र चुनावी तालमेल प्रभावकारी विकल्प हुन सक्ने बताए।

सम्बोधनका क्रममा उनले आफू विरुद्ध हुने आलोचना र सामाजिक सञ्जालमा आउने टिप्पणीलाई सामान्य रूपमा लिने गरेको बताउँदै कार्यकर्तालाई नडराई सक्रिय हुन आग्रह गरे। आफूहरू परिस्थिति अनुसार साहसिक राजनीतिक निर्णय लिन सक्षम रहेको उल्लेख गर्दै उनले महाधिवेशनमा पनि नयाँ राजनीतिक क्रमभंग हुने संकेत दिए।

“नहिचकिचाइकन, नडराइकन र भ्रममा नपरी अघि बढ्नुस्। मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस्,” भन्दै उनले कार्यकर्तालाई आत्मविश्वासका साथ संगठनात्मक गतिविधिमा सक्रिय हुन आह्वान गरे।

सेयर गर्नुहोस् :