काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेदरल्यान्ड्समा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ तथा बेलायत (यूके) तयारी भ्रमणका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने उपकप्तानको जिम्मेवारी दीपेन्द्र सिंह ऐरीलाई दिइएको छ।
घोषित टोलीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, ईशान पाण्डे, आरिफ सेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, अर्जुन कुमाल र विनोद भण्डारी रहेका छन्।
क्यानले साहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई वैकल्पिक खेलाडीका रूपमा समावेश गरेको छ।
नेपाली टोलीले नेदरल्यान्ड्समा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतका खेलहरू खेल्नुका साथै त्यस अघि बेलायतमा तयारी भ्रमण समेत गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ। तयारी भ्रमण मार्फत टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता अघि आवश्यक अभ्यास र संयोजनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




