काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शासकीय सुधारका लागि संविधान संशोधनका चार प्रमुख एजेन्डा अघि सारेको छ। पार्टीको प्रथम महाधिवेशनबाट पारित सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन मार्फत ती एजेन्डा सार्वजनिक गरिएको हो।
रास्वपाले पहिलो एजेन्डाका रूपमा स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारी सुनिश्चित गर्ने उद्देश्यले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था प्रस्ताव गरेको छ।
दोस्रो एजेन्डामा हालको निर्वाचन प्रणालीलाई प्रतिस्थापन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्ने प्रस्ताव गरिएको छ। यसबाट सबै समुदायको प्रतिनिधित्व सुनिश्चित हुने पार्टीको विश्वास छ।
तेस्रो एजेन्डा अन्तर्गत राष्ट्रिय सभालाई गैरदलीय विशेषज्ञहरूको सभा बनाउने तथा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको सभाध्यक्ष बनाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।
त्यसैगरी चौथो एजेन्डाका रूपमा प्रदेश सभा र प्रदेश सरकारको पुनर्संरचना गर्ने प्रस्ताव अघि सारिएको छ।




