काठमाडौं। जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका १५ जना अभियुक्तलाई मंगलबार सजाय निर्धारण गरेको छ।
अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ।
यस्तै, नेकपा (एमाले)का पूर्वसचिव टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
अदालतले केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङ्टेवा शेर्पा र टेकनारायण पाण्डेलाई पनि जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
उनीहरूलाई सरकारी लिखत किर्ते कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, ठगी कसुरमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तथा राज्यविरुद्धको कसुरअन्तर्गत ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना निर्धारण गरिएको अदालतले जनाएको छ।
त्यस्तै, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेललाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।
यस अघि अदालतले उक्त प्रकरणमा संलग्न अभियुक्तहरूलाई दोषी ठहर गरेको थियो। मंगलबारको फैसलासँगै दोषी ठहर भएका १५ जनाको सजाय निर्धारण भएको हो।




