समाचार

सांसदहरूले अब स्वकीय सचिव राख्न पाउने, यस्तो हुनेछ तलब सुविधा

काठमाडौं। संघीय संसद्का सदस्यहरूले अब स्वकीय सचिव नियुक्त गर्न पाउने भएका छन्। नेपाल राजपत्रमा सूचना प्रकाशित भएसँगै सांसदहरूलाई स्वकीय सचिव राख्ने बाटो खुलेको हो।

सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूची संशोधन गर्दै सांसदहरूलाई स्वकीय सचिवको सुविधा उपलब्ध गराउने निर्णय गरेको हो।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार अब संघीय संसद्का सदस्यहरूले राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) सरहको एक जना स्वकीय सचिव राख्न सक्नेछन्।

यस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले भने राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सरहको प्रमुख स्वकीय सचिव एक जना, साथै द्वितीय श्रेणी (उपसचिव) र तृतीय श्रेणी (शाखा अधिकृत) सरहका स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको छ।

विपक्षी दलका नेता, उपसभामुख, राष्ट्रियसभा उपाध्यक्ष, प्रमुख सचेतक तथा संसदीय समितिका सभापतिहरूले पनि तोकिएको श्रेणी अनुसार स्वकीय सचिव राख्न पाउने भएका छन्।

व्यवस्था अनुसार स्वकीय सचिवालयका कर्मचारीले सम्बन्धित पदको सुरु तलब स्केल अनुसार पारिश्रमिक पाउनेछन्। हाल शाखा अधिकृतको सुरु तलब ४३ हजार ६८८ रुपैयाँ, उपसचिवको ४८ हजार ७३७ रुपैयाँ र सहसचिवको ५६ हजार ७८७ रुपैयाँ रहेको छ।

सेयर गर्नुहोस् :