काठमाडौं। श्रमजीवी पत्रकार संघ, नेपालले श्रम अधिकार र सम्पादकीय स्वतन्त्रता हनन भएको आरोप लगाउँदै कान्तिपुर मिडिया विरुद्ध आन्दोलनको घोषणा गरेको छ।
संघले लामो समय देखि कार्यरत पत्रकारलाई कानुनी सेवा सुविधाबाट वञ्चित गर्दै नयाँ नियुक्तिको नाममा जबरजस्ती राजीनामा दिन बाध्य पारिएको, सम्पादकीय स्वतन्त्रता कमजोर बनाइएको तथा श्रम अधिकार उल्लंघन गरी सूचनाको व्यापार गरिएको आरोप लगाएको छ।
संघका अध्यक्ष जन्मदेव जैसीले वर्षौंसम्म काम गरेका पत्रकारलाई कानुन बमोजिम पाउनु पर्ने सेवा सुविधाबाट वञ्चित गर्न पुराना कर्मचारीलाई जबरजस्ती राजीनामा गराइएको दाबी गर्दै त्यसलाई श्रम अधिकार विपरीतको कदम भएको बताए। उनले आन्दोलनमा ऐक्यबद्धता जनाउन सबै पत्रकार, ट्रेड युनियन तथा सरोकारवालालाई आह्वान गरेका छन्।
यस अघि पनि संघले कान्तिपुर मिडिया विरुद्ध करिब डेढ महिना सम्म आन्दोलन गरेको थियो। त्यसबेला नेपाल पत्रकार महासंघको पहलमा भएको सहमति पछि आन्दोलन स्थगित गरिएको भए पनि सम्झौता कार्यान्वयन नभएको आरोप संघको छ।




