काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति फेरि सरेको छ। पछिल्लो एक सातामै उनको नेपाल फर्किने मिति तीनपटक परिवर्तन भएको हो।
यसअघि साउन १४, त्यसपछि २४ र २६ गते आउने भनिए पनि अब देउवा साउन २८ गते बिहीबार मध्यान्ह साढे १२ बजे काठमाडौं आइपुग्ने कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिएका छन्।
महतका अनुसार देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेता तथा कार्यकर्ताको उपस्थितिसहित भव्य तयारी गरिनेछ। कांग्रेसको इतर पक्षले पनि देउवाको स्वागतमा सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
इतर पक्षले साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्दैछ। भेला हुनुभन्दा एक दिनअघि देउवा नेपाल फर्किए पनि भेलामा उनी सहभागी हुने वा नहुनेबारे भने टुंगो लागेको छैन।
देउवा उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि चैत ७ गते हङकङ पुगेका थिए।




