काठमाडौँ। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ। हाल बागमती र गण्डकीका केही स्थान सहित कोशी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भाग तथा लुम्बिनीका पहाडी र तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
त्यस्तै, आज राति कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र तथा बागमतीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले आग्रह गरेको छ। वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।




