समाचार

मंसिर पहिलो साता प्रधानमन्त्री शाह भारत भ्रमणमा जाने तयारी

काठ्माडौं। प्रधानमन्त्री बालेन्द्र शाहले आगामी नोभेम्बरको तेस्रो साता अर्थात् मंसिरको पहिलो साता भारत भ्रमण गर्ने तयारी भएको छ। भ्रमणको ठ्याक्कै मिति भने अझै तय भइसकेको छैन।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भएको साइडलाइन भेटवार्तामा प्रधानमन्त्री शाहको भारत भ्रमणबारे छलफल भएको थियो।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार दुवै पक्षलाई अनुकूल हुने समय मिलाएर भ्रमणको तयारी भइरहेको छ। नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा छलफल अघि बढाउने र दुई देशबीच रहेका संयन्त्रलाई सक्रिय बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ।

प्रधानमन्त्री शाहले भारत भ्रमणका क्रममा सीमा विवाद तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटसम्बन्धी विषयमा ठोस प्रगति गर्न चाहेको स्रोतको दाबी छ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहलाई भारत भ्रमणको निम्तो दिएका थिए। त्यसको जवाफमा शाहले उपयुक्त समयमा भारत भ्रमण गर्ने बताएका थिए।

यसअघि परराष्ट्रमन्त्री खनालको मौरिसस भ्रमणका क्रममा पनि भारतीय विदेशमन्त्री जयशंकरसँग प्रधानमन्त्रीको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भएको थियो। अब दुवै पक्षबीच आवश्यक तयारी पूरा गरी भ्रमणको मिति तय गर्ने तयारी छ।

सेयर गर्नुहोस् :