खेलकुद

एसियन गेम्समा १६ वर्ष पछि श्रीलंकासँग भिड्दै नेपाल, सेमिफाइनल पुग्ने अवसर

काठमाडौं। नेपाली क्रिकेट टोलीले २०औँ एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा मंगलबार श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल नेपालका लागि क्वाटरफाइनल पार गर्दै एसियन गेम्स क्रिकेटमा पहिलोपटक सेमिफाइनल पुग्ने अवसर समेत हो।

नेपाल र श्रीलंका एसियन गेम्सको क्रिकेटमा १६ वर्षपछि आमनेसामने हुन लागेका हुन्। सन् २०१० को ग्वाङ्झाउ एसियन गेम्सको क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग दुई विकेटले पराजित भएको थियो। उक्त खेललाई भने टी–२० अन्तर्राष्ट्रिय मान्यता प्राप्त थिएन।

दुवै टोलीबीच हालसम्म आधिकारिक टी–२० अन्तर्राष्ट्रिय खेल समेत भएको छैन। सन् २०२४ को टी–२० विश्वकपमा नेपाल र श्रीलंकाबीच खेल हुने तय भए पनि वर्षाका कारण टस समेत हुन नसकी खेल रद्द भएको थियो। त्यसैले मंगलबारको खेल सम्पन्न भएमा यो दुई टोलीबीचको पहिलो आधिकारिक टी–२० अन्तर्राष्ट्रिय भिडन्त बन्नेछ।

एसियन गेम्स क्रिकेटमा नेपाल अहिलेसम्म क्वाटरफाइनल भन्दा अघि बढ्न सकेको छैन। २०१० मा श्रीलंका, २०१४ मा अफगानिस्तान तथा २०२२ मा भारतसँग पराजित हुँदै नेपाल अन्तिम आठ मै रोकिएको थियो। यसपटक भने नेपाल समूह ‘ए’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो।

समूह चरणमा अफगानिस्तानलाई पराजित गरेको नेपालले जापानसँगको खेल वर्षाका कारण नतिजा विहीन भएपछि समूहको शीर्ष स्थान सुरक्षित गरेको थियो। श्रीलंकालाई पराजित गर्न सके नेपाल पहिलोपटक एसियन गेम्स क्रिकेटको सेमिफाइनलमा पुग्नेछ। सेमिफाइनलमा नेपालको सम्भावित प्रतिद्वन्द्वी भारत हुनेछ।

तर नेपालको अभियानमा मौसम पनि महत्वपूर्ण चुनौती बनेको छ। जापानमा पछिल्ला दिनमा निरन्तर वर्षा भइरहेका कारण खेल प्रभावित हुँदै आएका छन्। सोमबारका दुवै क्वाटरफाइनल पनि वर्षाका कारण हुन नसकेपछि वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगेका थिए।

नेपाल–श्रीलंका खेल पनि वर्षाका कारण रद्द भएमा उच्च वरीयतामा रहेको श्रीलंका सेमिफाइनल पुग्नेछ। यस्तो अवस्थामा नेपालले मैदानमै प्रतिस्पर्धा गर्ने अवसर समेत गुमाउनेछ।

श्रीलंकाको सिनियर टोली हाल इंग्ल्यान्ड भ्रमणमा रहेकाले एसियन गेम्सका लागि दोस्रो रोजाइको टोली जापान पुगेको छ। यद्यपि टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका निरोशन डिक्वेला, आशेन बान्दरा, नुवान थुसारा, चमिका करुणारत्ने र बिनुरा फर्नान्डोजस्ता खेलाडी छन्। श्रीलंकाको कप्तानी सहान अराचिगेले गर्नेछन्।

नेपालको टोलीको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गर्नेछन्। सम्भावित टोलीमा कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्शन झा, रोहित पौडेल, लोकेश बम, सन्दीप लामिछाने, सोमपाल कामी, शेर मल्ल र ललित राजवंशी छन्। कप्तान ऐरीले टोलीले पदक जित्ने लक्ष्य सहित शतप्रतिशत योगदान दिइरहेको बताएका छन्।

नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल १३ असोज बिहान ५ः४५ बजे जापानको कोरोगी स्पोर्ट्स पार्कमा हुनेछ। खेलअघि वर्षाको सम्भावना रहेकाले नेपाली टोलीका लागि मैदानसँगै मौसम पनि निर्णायक बन्ने देखिएको छ।

सेयर गर्नुहोस् :