समाचार

मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालन हुने

काठमाडौँ:भदौ २४ गतेको आन्दोलनका क्रममा सर्वोच्च अदालतमा भएको आगजनी र तोडफोडपछि आशिंक रूपमा सेवा दिइरहेको सर्वोच्च अदालत अब मङ्सिर १ गतेदेखि पूर्णरूपमा सञ्चालनमा आउने भएको छ।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट बचेका सबै मुद्दा र अवरुद्ध सेवाहरूलाई पुनः नियमित गर्ने निर्णय गरेको हो। अदालतले जारी गरेको सूचनामा भनिएको छ, मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेका हुँदा तोकिएका पेसी तारेखका मितिहरू अनुसार मङ्सिर १ गतेदेखि नियमित सुनुवाइ हुनेछ। त्यस्तै, पुनरावेदन पत्र, पुनरावलोकन निवेदन, दोहोर्याई पाउँ भन्ने निवेदन लगायतका सबै प्रकारका मुद्दाहरू दर्ता र सुनुवाइका लागि खुला गरिने अदालतले जनाएको छ।

गत भदौ २४ गते सर्वोच्च अदालतमा ‘जेनजी आन्दोलन’का क्रममा भएको आगजनीपछि सेवा प्रभावित बनेको थियो। उक्त घटनापछि अदालतले सीमित मुद्दा मात्र सुनेर आशिंक रूपमा सेवा प्रवाह गर्दै आएको थियो।

सेयर गर्नुहोस् :