काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार सातबुँदे राजनीतिक सहमति भए पनि ऊर्जा मन्त्री तथा उज्यालो नेपाल पार्टीका संस्थापक कुलमान घिसिङ उक्त सहमतिमा समेटिन सकेनन्। पछिल्लो समय बालेन, रवि र कुलमानबीच सहकार्यको चर्चा चर्किंदै गएकाले घिसिङको अनुपस्थितिले राजनीतिक वृत्तमा अनेक प्रश्न उठाएको छ।
स्रोतका अनुसार सहमतिभन्दा अघिल्लो दिनसम्म बालेन र कुलमान बीच निरन्तर संवाद भइरहेको थियो। शनिबार साँझ दुबैबीच भेटवार्ता भएको र राति सम्म छलफल चलेको बताइन्छ। त्यो भेटपछि नै राति बालेन र रवि निर्णायक वार्तामा बसेका थिए जहाँ बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सातबुँदे सहमतिको खाका तय गरिएको थियो। स्रोतका अनुसार बालेनले कुलमानलाई पार्टी एकतामा तेस्रो वरीयतामा रहन प्रस्ताव गरेका थिए तर कुलमान त्यसमा सहमत भएनन्। उनी स्वयं पनि प्रधानमन्त्रीको आकांक्षी रहेको बताइएको छ।
कुलमानले आफू वरिष्ठ मन्त्री भइसकेको उज्यालो नेपाल पार्टीले संरचनागत स्वरूप लिइसकेको र उमेर तथा अनुभवका आधारमा प्रधानमन्त्रीको दाबेदार आफू हुनुपर्ने तर्क बालेन समक्ष राखेका थिए। तर बालेन भने आफू नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने अडानमा अडिग देखिए। उनले पाँच वर्ष प्रधानमन्त्री चलाउन पाउनुपर्ने एक सूत्रीय माग राख्दै आएका थिए। बालेनले अन्तिम समयसम्म कुलमानलाई समेटेर अघि बढ्न रवि लामिछानेलाई आग्रह गरेको स्रोतको दाबी छ। तर रविले भने कुलमानलाई यसअघि नै रास्वपाबाट प्रधानमन्त्री बन्न प्रस्ताव गरिएको तर उनले अस्वीकार गरेको जानकारी बालेनलाई गराएका थिए।
बालेनले कुलमान अहिले लचिलो भएको र सहसभापति पद दिएमा सहमत हुन सक्ने बताएका थिए। तर रविले पार्टी संरचनाका कारण सहसभापति पद दिन नसकिने स्पष्ट पारे। उपसभापति पदको प्रस्ताव भए पनि त्यसपछि कुलमान वार्ताबाट बाहिरिएको र सम्पर्कविहीन बनेको स्रोतको भनाइ छ।
कुलमान निकट स्रोतका अनुसार असहमतिको जड विगतको समझदारीमा छ। केही समयअघि बालेनले मेयरको कार्यकाल पूरा गर्ने र कुलमानलाई पार्टी खोलेर प्रधानमन्त्रीका रूपमा अघि बढ्न शुभकामना दिएको भन्दै कुलमानले त्यसलाई बालेनले आफ्नो नेतृत्व स्वीकार गरेको रूपमा बुझेका थिए। यही आधारमा उनले बालेनसँगको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
तर शनिबारको वार्तामा बालेनले आफू नै पाँच वर्ष प्रधानमन्त्री बन्ने बताएपछि कुलमान असन्तुष्ट बनेको स्रोतको दाबी छ। उज्यालो नेपाल पार्टीको सहअस्तित्व स्वीकार नगरी पार्टी–पार्टीबीच स्पष्ट समझदारी, नेतृत्व, चुनाव चिह्न र प्रधानमन्त्रीको उम्मेदवारबारे ठोस प्रस्ताव नआएसम्म एकतामा जान नसकिने कुलमानको अडान रहेको बताइन्छ।
रास्वपातर्फबाट २५ प्रतिशत केन्द्रीय सदस्य दिने भन्ने बाहिरी चर्चा भए पनि प्रत्यक्ष वार्तामा कुनै ठोस प्रस्ताव नआएको कुलमान पक्षको भनाइ छ।




