जुम्ला। बाइराँका गाउँमा चुनाव आउँछ उम्मेदवार आउँछन बाचा दोहोरिन्छ तर पानी भने उस्तै अभाव मै अड्किएको छ। जुम्ला तातोपानी-१ अन्तर्गतको बाइराँका गाउँका बासिन्दा दशकौ देखि स्वच्छ खानेपानीको माग गर्दै आएका छन् तर हरेक निर्वाचन पछि उनीहरूको आशा फेरि निराशामा बदलिने गरेको छ।
२०६४ सालदेखि हरेक चुनावमा खानेपानी आयोजना बनाइ दिनुपर्ने माग उठाउँदै आएका करण शाही भन्छन् “हामीले पानी माग्यौँ नेताले बाचा गरे तर जितेपछि गाउँ नै बिर्सिए । पाँच दशक बितिसक्दा पनि खानेपानीको समस्या उस्तै छ।”
गाउँमा अहिले एउटा मात्र धारा छ। त्यो धाराबाट पनि घन्टौँ ट्यांकीमा पानी जम्मा भए पछि मात्रै पानी झर्छ । बिहान सबेरै गाग्री बोकेर लाइन बस्नु यहाँको दैनिकी बनेको छ। रबिना शाहीको गुनासो छ “पानी भर्न पालो कुर्नु पर्छ तर हरेक चुनावमा पानी ल्याइदिन्छौँ भन्ने बाचा फेरि दोहोरिन्छ।”
पानीको विकल्प नपाए पछि गाउँलेहरू अहिले नजिकैको तिला नदी बाट पानी बोकेर खान बाध्य छन। हिउँदमा केही सफा देखिए पनि वर्षायाममा धमिलो पानी पिउनुपर्दा स्वास्थ्यप्रति चिन्ता बढेको छ।
बाइराँकाबासीले खानेपानीका लागि आन्दोलन पनि नगरेका होइनन। २०६४ सालमा रित्तो गाग्री र जर्किन बोकेर जिल्ला प्रशासन कार्यालयमा धर्ना, अनसन र तालाबन्दीसम्म गरे । तर न राज्यले सुनेको उनीहरूको अनुभूति छ, न जनप्रतिनिधिले गम्भीर चासो देखाएको छ।
२०५६ सालदेखि हालसम्म भएका प्रतिनिधिसभाका सबै चुनावमा यहाँको खानेपानी मुद्दा उठ्यो । सबै दलका उम्मेदवार गाउँ पुगे, बाचा गरे तर समस्या ज्यूँका त्यूँ छ। गाउँमा करिब १७० घर छ्न ती मध्ये आधाभन्दा बढी दलित समुदायका छन। गाउँ माथि सुख्खा डाँडा भएकाले पानीका मुहानसमेत छैनन् ।
हाल स्थानीय तहसँग समन्वय गरेर एउटा गैरसरकारी संस्थाले खानेपानी परियोजनाको अध्ययन थालेको छ तर गाउँलेहरू अझै ढुक्क छैनन् । अब या त पानी घरघरमा पुर्याइ दिनुपर्यो, नत्र बस्ती नै सारिदिनुपर्यो” भन्ने स्थानीयहरुको साझा माग छ।





